प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दर्ता गर्न सकिनेछ ।
आयोगका अनुसार प्राप्त उजुरी तथा मनोनयन पत्रमाथि यही माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी आवश्यक निर्णय लिइनेछ र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
हालसम्म कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । आगामी निर्वाचन कार्यक्रमहरूमा समेत सबैको निरन्तर सहयोग रहने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष रहेका छन् । साथै, अपाङ्गता भएका व्यक्ति ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।