आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लामा उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
मुख्य निर्वाचन कार्यालय पर्साका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १०९ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कार्यालय पर्साका प्रवक्ता यादवप्रसाद जोशीका अनुसार चार सिटका लागि एक सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा ३० जना, क्षेत्र नम्बर–२ मा ३२ जना, क्षेत्र नम्बर–३ मा २३ जना र क्षेत्र नम्बर–४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चारै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उपस्थिति देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर–१
यस क्षेत्रमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख दलतर्फ नेपाली कांग्रेसबाट अनिलकुमार रुंग्टा, नेकपा एमालेबाट प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरि पन्त, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ र नेकपाबाट अजय चौरसिया उम्मेदवार रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर–२
सबैभन्दा बढी उम्मेदवारी परेको यस क्षेत्रमा ३२ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमत पार्टीबाट श्याम गुप्ता र नेकपाबाट मनोज चौधरी प्रतिस्पर्धामा छन् ।
निर्वाचन क्षेत्र नम्बर–३
यस क्षेत्रमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रुपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमत पार्टीबाट माल्ती कुशवाहा प्रमुख उम्मेदवार हुन् ।
निर्वाचन क्षेत्र नम्बर–४
यस क्षेत्रमा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमत पार्टीबाट सिमादेवी कलवार चुनावी मैदानमा छन् ।
चारै निर्वाचन क्षेत्रमा मुख्य दलका चर्चित उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारको समेत उल्लेख्य उपस्थितिले यसपटक पर्साको प्रतिनिधिसभा निर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक हुने संकेत देखिएको छ ।