उम्मेदवारी मनोनयन दर्तासँगै मधेश प्रदेशको राजधानी जनकपुरधाम रहेको धनुषा क्षेत्र नम्बर–३ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख दलतर्फ नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली महतो, जसपा नेपालबाट परमेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा र नेकपाबाट रामललित मण्डल उम्मेदवार बनेका छन् । यस क्षेत्रमा १६ वटा दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्रतर्फ पत्रकार दिवाकर साहसहित २९ जनाले मनोनयन दर्ता गराएका छन् ।
धेरैजसो उम्मेदवारलाई प्रमुख दलहरूले सवारी साधन प्रयोगका लागि ‘डमी उम्मेदवार’का रूपमा खडा गरेको बताइएको छ । उम्मेदवारहरू प्रचार–प्रसारका लागि सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । फेसबुक र टिकटकमार्फत प्रचारलाई प्राथमिकता दिइएको छ भने छापा तथा भौतिक प्रचार सामग्रीको प्रयोग तुलनात्मक रूपमा कम देखिएको छ ।
अधिकांश उम्मेदवारले भारतको मधुबनी जिल्लास्थित कल्याणेश्वर महादेव मन्दिरमा पूजा गरेर चुनावी अभियानको सुरुवात गरेका छन् । साथै, जानकी मन्दिर, संकट मोचन, डिहवार स्थानलगायत धार्मिक स्थलमा पूजा–अर्चना गर्दै मतदातासँग भेटघाटलाई तीव्र बनाएका छन् ।
ग्रामीण क्षेत्रमा नेता–कार्यकर्ताहरू चियापसल तथा घरघरमा पुगेर मतदाता भेटघाटमा जुटेका छन् । गाडी तथा पर्खालमा पोस्टर–ब्यानर झुण्ड्याउने गतिविधि कम देखिए पनि सामाजिक सञ्जालमा दैनिक दर्जनौँ पोस्ट हुने गरेका छन् ।
कांग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिने यस क्षेत्रमा विमलेन्द्र निधिको गृह क्षेत्र पनि पर्छ । उनका बुवा महेन्द्र नारायण निधिदेखि यस क्षेत्र कांग्रेसको गढ मानिँदै आएको छ । तर पछिल्ला दुई निर्वाचनमा निधि पराजित भएका थिए। यसपटक भने उनी पुनः जित निकाल्ने प्रयासमा सक्रिय देखिएका छन् ।
२०४८ देखि २०७९ सम्म भएका सात वटा निर्वाचनमध्ये पाँच पटक कांग्रेसले जित हासिल गरेको छ । २०७९ मा एमालेकी जुली महतो विजयी भएकी थिइन् भने २०७४ मा राजेन्द्र महतो विजयी भएका थिए ।
२०७९ को निर्वाचनमा जुली महतोले लोसपाका अनिल झालाई करिब १० हजार मतले पराजित गर्दै ३३ हजार ३८८ मतसहित जित हासिल गरेकी थिइन् । झाले २३ हजार ६८६ मत प्राप्त गरेका थिए ।
२०७४ मा निधि राजेन्द्र महतोसँग २ हजार ९०३ मतले पराजित भएका थिए । २०७० मा भने निधिले जुली महतोलाई पराजित गर्दै जित हासिल गरेका थिए । २०६४ मा एमालेका हरिदेव मण्डललाई हराउँदै निधि विजयी भएका थिए ।
यसपटक कांग्रेस र एमाले बाहेक नेकपा, रास्वपा, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी, आजपा, राप्रपा लगायत दलहरूले नयाँ अनुहारलाई मैदानमा उतारेका छन् । नेकपाबाट रामललित मण्डल, रास्वपाबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राप्रपाबाट हुसैन कवारी र आजपाबाट प्रदीप विक्रम साह प्रमुख नयाँ अनुहार हुन् ।
जसपा नेपालका परमेश्वर साह पूर्व मधेश प्रदेश सांसद हुन् भने रास्वपाका मनिष झा निवर्तमान समानुपातिक सांसद हुन्। अन्य उम्मेदवार अधिकांश नयाँ अनुहार हुन् ।
एक लाख २५ हजार ९२७ मतदाता रहेको धनुषा क्षेत्र नम्बर–३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ वडासहित नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र धनौजी गाउँपालिकाका गरी कुल ३८ वटा वडा रहेका छन् ।