आज विहान बारामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, दुर्घटना ट्रकले स्कुटीलाई ठक्कर दिँदा भएको हो । मृत्यु हुने व्यक्ति बारा कलैया उपमहानगरपालिका–३ निवासी २० वर्षीय स्कुटी चालक आयुष गुप्ता हुन् ।
वीरगंजबाट कलैयातर्फ जाँदै गरेको म.प्र.०३–०२७प ७८२९ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आएको नम्बर नखुलेको ट्रकले बारा प्रसौनी गाउँपालिका–२ दुधौरा पुल नजिक ठक्कर दिएको थियो । ठक्करका कारण स्कुटी चालक आयुष गुप्ताको टाउकोमा गम्भीर चोट लागेको थियो ।
सोही स्कुटीमा पछाडि सवार पर्सा जिल्ला, विराटनगर महानगरपालिका–१० निवासी मौसमकुमार साह दाहिने हात र ढाडमा चोट लागेको थियो । दुवै जनालाई उपचारका लागि न्युरो परवानिपुर, बारा पठाइएको थियो । उपचारको क्रममा स्कुटी चालक गुप्ताको मृत्यु भएको छ ।
घटनामा संलग्न म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकलाई कलैयाको हनुमान चौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ चौधरी टोल बस्ने २४ वर्षीय दीपेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा राखिएको छ ।