वीरगन्ज महानगरपालिका–७, रेल्वे रोडस्थित एसबी ट्रेडिङमा प्रहरीले छापा मारेर करिब २५ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ ।
रेल्वे रोडस्थित एक घरमा विकास गोयलको सञ्चालनमा रहेको एसबी ट्रेडिङको गोदाममा वडा प्रहरी कार्यालय बीर्ताबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो । बिलबिजक शंकास्पद देखिएपछि करिब २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बीर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीका अनुसार गोदामबाट बेलुन, ब्याण्डेज, तास, पेन्सिल, रबर, गुच्चा, इरेजर, लाइटर लगायतका सामान दुई ट्रकमा बरामद गरिएको हो । बरामद सामानको बजार मूल्य अन्दाजी २५ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।
राजस्व छलेर भित्र्याइएका सामान ठूलो परिमाणमा भण्डारण गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले गोदाममा खानतलासी गरेको थियो । खानतलासीका क्रममा बिलबिजक शंकास्पद देखिएपछि सामान जफत गरिएको उनले जानकारी दिए ।
बरामद गरिएका सबै सामान जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।