बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रहार गरी आमा–छोराको निर्मम हत्या भएको छ ।
स्थानीयका अनुसार ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको गएराति करिब ३ बजेको समयमा हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा घटनास्थलमै आमा–छोराको मृत्यु भएको घटनाकाे प्रकृतिले देखाएकाे बताएका छन् ।
उक्त घटनामा मृतक सुमित्रा देवीका ५० वर्षीय श्रीमान जागरुक मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । घाइते दुवैको हाल एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति को हो, हत्या किन र कसरी गरियो भन्ने विषयमा सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको डिएसपी पण्डितले बताए। “अपराधमा संलग्न जोसुकै भए पनि पहिचान गरी कानुनी दायरामा ल्याइनेछ,” उनले भने।
प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।