प्रादेशिक अस्पताल पोखरियाका केही कर्मचारीहरूले विनासूचना अस्पतालका कबाड सामग्री बिक्री गरी रकम हिनामिना गरेको आरोप लागेको छ ।
अस्पताल स्रोतका अनुसार बिग्रिएका मेसिनरी सामग्री, फर्निचर, ट्यांकीलगायतका कबाड सामानहरू कर्मचारीहरूले स्थानीय कबाडीलाई बिक्री गरेका थिए । सो बिक्रीबाट प्राप्त करिब डेढ लाख रुपैयाँ उनीहरूले आपसमा बाँडफाँड गरेको बताइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले मुख्यमन्त्री कृष्णप्रसाद यादवको अस्पताल निरीक्षणका क्रममा कबाड सामग्रीहरू व्यवस्थित गर्न मात्र निर्देशन दिएको र बिक्री गर्न नभनेको स्पष्ट पारेका छन् ।
उनले सरकारी स्वामित्वका सामग्रीहरू विनासूचना बिक्री गर्न नपाइने र यदि बिक्री गरिएको खण्डमा त्यसबाट प्राप्त रकम अनिवार्य रूपमा सरकारी कोषमा दाखिला हुनुपर्ने व्यवस्था रहेको जानकारी दिए ।
यस विषयमा आफूलाई जानकारी नभएको उल्लेख गर्दै डा. रौनियारले घटनाको छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।