पर्साका किसानहरूले आफ्नो समस्या वर्षौंदेखि उस्तै रहँदा पनि नेताहरूले चुनावको समयमा मात्रै किसान सम्झिने गरेको गुनासो गरेका छन् । किसानहरूका अनुसार समस्या पर्दा बेवास्ता गर्ने नेताहरू अहिले चुनावको मुखमा गाउँगाउँ पुगेर झूटो आश्वासन बाँड्दै मत तान्ने अभियानमा सक्रिय भएका छन् ।
धोबिनी गाउँपालिका–३ निवासी किसान असर्फी राउतका अनुसार पर्सासहित तराईका सबै जिल्लाका किसानहरूको समस्या समान छन् । “समयमा मल र बीउबिजन पाइँदैन, सिंचाइको राम्रो व्यवस्था छैन, उत्पादनको बजार र उचित मूल्य छैन,” उनले भने, “तर अहिले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेताहरू गाउँगाउँ पुगेर समस्या समाधान गर्ने आश्वासन दिइरहेका छन् ।”
पोखरिया नगरपालिका–९ का किसान जगदीश साहले नेताहरूको गलत नीतिका कारण किसानहरू सधैं मारमा परेको आरोप लगाए । “किसानसँग खेतबाहेक केही छैन। खेतमै अन्न उत्पादन गरेर देशलाई खुवाउँछौं तर उत्पादन गर्न कति समस्या छ भन्ने नेताहरूले बुझ्दैनन्,” उनले भने ।
अहिले चुनाव लक्षित घरदैलो, अगुवा कार्यकर्ता भेला र किसानसँग संवाद कार्यक्रममा नेताहरू सक्रिय छन् । ती कार्यक्रममा किसानहरूले आफ्ना समस्या राखे पनि नेताहरूसँग ठोस जवाफ नभएको उनीहरूको गुनासो छ। “म जितेपछि सबै समस्या समाधान गर्छु,” भन्ने एउटै वाक्य सबै नेताको मुखमा झुन्डिएको किसानहरू बताउँछन् ।
चुनावको बेला केही किसानलाई प्रलोभनमा पारेर मत किन्ने र जितेपछि हराउने प्रवृत्ति बढेको साहले बताए । “किसानका मुद्दामा काम गर्ने दललाई समर्थन गर्ने सोच छ तर विकल्प कम छन्,” उनले भने ।
विगतका निर्वाचनमा निरन्तर मतदान गर्दै आए पनि किसानका पक्षमा इमानदारीपूर्वक काम नगरेको देखेर यसपालि मतदान नगर्ने मनस्थिति बनेको साहले बताए ।
यस वर्षको सुक्खा र बेमौसमी वर्षाले पर्सासहित मधेस प्रदेशका किसानहरूले ठूलो क्षति बेहोर्नुपरेको छ । सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि हालसम्म मुआवजा नपाएको भन्दै किसानहरूले असन्तुष्टि जनाएका छन् ।
स्थानीय किसानहरूसँगको छलफलमा मुख्य समस्या सिंचाइ रहेको पाइएको छ । गण्डक नहर, कुलो र ट्युबवेलमार्फत सिंचाइ हुने भए पनि नियमित पानी नपुग्ने किसानहरूको गुनासो छ । गण्डक नहरको समयमै मर्मत नहुने र पानी बाँडफाँडमा अनियमितता हुने गरेको उनीहरू बताउँछन् ।
धान, गहुँ, उखु र तरकारी खेतीका लागि गुणस्तरीय बीउ र रासायनिक मलको अभाव छ । डिजेल, बिजुली, सिंचाइ, ट्याक्टर र थ्रेसरको खर्च बढ्दै जाँदा उत्पादन लागत बढेको र किसान निरन्तर घाटामा गएको उनीहरूको भनाइ छ ।
यी समस्या वर्षौंदेखि उस्तै रहे पनि चुनावको समयमा मात्र उठान हुने र त्यसपछि बेवास्ता हुने गरेको किसानहरूको गुनासो छ । किसान साहका अनुसार किसानका लागि वास्तवमै काम गर्ने नेताको पहिचान चुनावकै बेला गर्नुपर्ने बाध्यता रहेको छ ।