बाराको कलैया उपमहानगरपालिका–५, दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा आज एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, वीरगञ्जस्थित नवीन बैंक, बिरगंज शाखामा मार्केटरका रूपमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा फेला परेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको मृत्यु भइसकेको पुष्टि गरेको छ ।
प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मृतक ठाकुर सप्तरी जिल्ला घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३, प्रगति नगरमा बसोबास गर्दै आएका थिए । सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेश नेपाल पनि उपस्थित रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो जस्तो देखिने पदार्थ’ सेवन गरेको खुलेको र त्यसको ओभरडोजका कारण ठाकुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको छ ।