नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम वीरगंजमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आश्रममा आश्रितहरूको स्वास्थ्य अवस्था सुधार गर्न लक्षित यस शिविरमा समग्र स्वास्थ्य परीक्षण र आवश्यक परामर्श प्रदान गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।
शिविरमा चिकित्सकहरू डा. निरज कुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादव, तथा नारायणी अस्पतालकी नर्सिङ प्रमुख अहेमा थापालगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए। चिकित्सक टोलीले आश्रमका आश्रितहरूको विस्तृत स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श दिएका थिए ।
शिविरका क्रममा विभिन्न रोगसम्बन्धी औषधि, मानसिक स्वास्थ्यसम्बन्धी औषधि, भिटामिन, स्यानिटरी प्याड लगायतका सामग्रीहरू निःशुल्क वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष कमल चौगाईले जानकारी दिए ।
स्वास्थ्य परीक्षणको क्रममा केही सहभागीमा आङ खस्ने, स्तनमा गाँठो देखिने, योनीमा घाउ, पिसाब चुहिने तथा पाठेघरसम्बन्धी समस्या देखिएको चिकित्सक टोलीले जनाएको छ । ती समस्या समाधानका लागि आवश्यक परामर्श र उपचार प्रक्रिया सम्बन्धी सुझाव पनि दिइएको थियो ।