पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) लाई आज परवानीपुर गाउँपालिका वडा नम्बर २१ का Gen Z युवाहरूले खादा–माला लगाई भव्य स्वागत तथा सम्मान गरेका छन् ।
स्वागत कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भेटघाट तथा संवादको क्रममा उम्मेदवार सिंहले टोलवासीसँग प्रत्यक्ष कुराकानी गर्दै क्षेत्रका निर्माणाधीन तथा अधुरा रहेका विकास कार्यहरू, युवाका लागि रोजगारी र शिक्षाको अवस्था, तथा गाउँ–समाजको समग्र विकासका विषयमा आफ्ना धारणा राख्नुभयो ।
उम्मेदवार सिंहले युवालाई रोजगारी र शिक्षाका लागि सहर वा काठमाडौं केन्द्रित हुनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताउँदै, गाउँमै बसेर पनि रोजगारी सिर्जना, शिक्षा र विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।
साथै, उहाँले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर गरेको काम र त्यहाँबाट बटुलेको अनुभवलाई अब संघीय संसद भवनसम्म पुर्याएर जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी Gen Z युवाहरूले नयाँ सोच, इमानदार नेतृत्व र युवामैत्री नीतिप्रति उम्मेदवार सिंहसँग आशा र विश्वास व्यक्त गरेका थिए ।
उज्यालो नेपाल पार्टीले यस्ता जनसम्पर्क, सम्मान तथा संवाद कार्यक्रमले संगठनलाई थप सशक्त बनाउँदै जनतासँगको सम्बन्ध मजबुत हुँदै गएको जनाएको छ ।