राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सार्वजनिक जीवनमा पुनः सक्रिय हुने घोषणा गरेका छन् । खुट्टामा लागेको चोटका कारण केही दिन उपचार र आरामपछि अब उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय हुन लागेका हुन् ।
लामिछानेले सकेसम्म देशका सबै स्थानमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले आफू विभिन्न अदालत धाउँदै उपचाररत अवस्थामा समेत जनतासँग जोडिन प्रयासरत रहने बताएका छन् ।
उनले लेखेका छन्, “अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै देशभरका अदालतहरू धाउँदा धाउँदै कति ठाउँ पुग्न सक्छु थाहा छैन, तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने हुनेछ ।”
सभापति लामिछानेले अब देशमा हुने परिवर्तनलाई ‘घटना नभएर इतिहास’को संज्ञा दिँदै नेपाली जनताले आफ्नै मतपत्रमार्फत परिवर्तन लेख्ने दाबी गरेका छन् । उनले सिंहदरबार पुग्न नभएर सिंहदरबार बदल्न घण्टीमा मतदान गर्न आग्रह गरेका छन् ।
उनले संसद पुनःस्थापनासम्बन्धी कथित षड्यन्त्र र चलखेल स्वीकार्य नहुने स्पष्ट सन्देश पनि दिएका छन् । देशलाई “अन्तिम सुनामीतर्फ उन्मुख” बताउँदै उनले पुरानो व्यवस्था फर्काउने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएका छन् ।
लामिछानेले चितवनबाट निर्वाचन केन्द्रित कार्यक्रमको सुरुआत गर्ने जनाएका छन् । सार्वजनिक सन्देशमा उनले भ्रष्टाचार, कुशासन र अस्थिरताको अन्त्यका लागि कठोर संघर्ष गर्न आफू तयार रहेको बताएका छन् ।
उनले देशको भविष्य जनताको हातमा रहेको उल्लेख गर्दै मतपत्रमार्फत सुशासन, विकास, कूटनीति र आर्थिक सुधारको नयाँ युग सुरु गर्ने लक्ष्य रहेको बताएका छन् ।
“फागुन २१ नेपाली इतिहासको माइलस्टोन हुनेछ,” भन्दै उनले आगामी निर्वाचनलाई निर्णायक मोडको रूपमा चित्रण गरेका छन् ।
लामिछानेले राजनीतिक स्वार्थका लागि गठबन्धन गर्ने प्रवृत्तिको आलोचना गर्दै जनताको बलमा पुरानो राजनीतिक संरचना अन्त्य गर्ने अठोट व्यक्त गरेका छन् ।