प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुने तय भएको छ । सामान्य पहाडी र तराईका भूभागमा मतदान सहज हुने देखिए पनि उच्च पहाडी र हिमाली क्षेत्रका मतदाताहरूका लागि मतदान कठिन हुन सक्ने प्रक्षेपण गरिएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागमा चैतसम्म हिउँ पर्ने भएकाले मतदाताहरूलाई मतदान स्थलसम्म पुग्न कठिनाई पर्न सक्छ । प्रधानमन्त्री सुशीला कार्कीले सबै क्षेत्रमा मतदान सुनिश्चित गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएकी छन् ।
मंगलबार नवलपुरमा सञ्चारकर्मीहरूसँगको संवादमा प्रधानमन्त्री कार्कीले कठिन भूभागमा यातायातका साधन प्रयोग गरी मतदातालाई मतदान स्थलसम्म पुर्याउन सकिने बताएकी हुन् । उनले भनिन्,"थोरै ठाउँ भएका भूभागमा साधन प्रयोग गरेर पनि हुन सक्छ। सवारी साधनबाट मान्छे ओसारेर पनि गर्न सकिन्छ ।"
प्रधानमन्त्री कार्कीले यदि कुनै भूभागमा मतदान गर्न असम्भव भएमा दोस्रो चरणमा मतदान गर्न सकिने स्पष्ट पारेकी छिन् । उनले भनिन्,"हुनै नसक्ने अवस्था हो भने त्यही रूपबाट विचार हुन्छ। कहिँ रोकियो भने सरकारले दोस्रो पटक गराउँछ। तर निर्वाचन चाहिँ जसरी पनि हुन्छ ।"
उनले चुनाव सार्नका लागि कुनै पनि राजनीतिक दलले सरकारसँग कुनै पनि छलफल नगरेको पनि बताइन् । उनले भनिन्,"सर्दैन पनि। किन सार्ने। सबै गरेर ३१/३२ अर्ब रूपैयाँ खर्च हुन्छ। त्यत्रो खर्च भइरहेको छ। यो आपतकालीन अवस्थाको चुनाव हो। त्यही अनुसार चुनाव हुन्छ ।"
प्रधानमन्त्री कार्कीको स्पष्ट भनाइले निर्वाचनको तयारी प्रभावकारी ढंगले अघि बढिरहेको देखाउँछ र कठिन भूभागका मतदाताका लागि पनि विशेष व्यवस्था गरिने संकेत गर्दछ ।