गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरू सहभागी थिए । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
बैठकमा मुख्य रूपमा शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी र कर्मचारीको व्यवस्थापन, आवश्यक सवारी साधन, मतपेटिका ढुवानी व्यवस्थालगायतका विषयमा छलफल भएको थियो ।
त्यसैगरी, बैठकले सीमा सुरक्षामा उच्च निगरानी, छिमेकी देशसँग समन्वय, धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, र जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनको प्रभावकारी कार्यान्वयनजस्ता विषयमा पनि चर्चा गरेको छ ।
गृह मन्त्रालयले सबै सम्बन्धित निकायलाई निर्देशन पालनामा ध्यान दिनु आवश्यक भएको जोड दिएको छ ।