राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह मंगलबार दिउँसो ठिक २ बजेर २९ मिनेटमा सिरहाको मिर्चैया आइपुगेका छन् ।
सप्तरीका विभिन्न स्थान हुँदै हुलाकी सडकबाट बरियारपट्टी र जिरोमाइल पार गरी पूर्वपश्चिम राजमार्ग हुँदै उनी मिर्चैया पुगेका हुन् । सिरहाबाट कल्याणपुर लागेका शाहले आजै कमला नदी हुँदै धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा पुगेर घण्टी बजाउँदै प्रचारमा जुटिरहेका शाहले मिर्चैयामा पनि यही शैली अपनाएका छन् ।
मिर्चैया थाना चोकस्थित पूर्वपश्चिम राजमार्गमा करिब दुई घण्टादेखि प्रतीक्षारत समर्थकलाई गाडीबाटै अभिवादन गर्दै घण्टी बजाएर उनी बिना रोकावट अगाडि बढेका थिए । उनी एकछिन पनि नरोकी हिँडेपछि समर्थकहरू निराश हुँदै फर्किएका थिए ।
भीडमा रहेका मिर्चैयाका रामेन्द्र यादवले भने, “हामी उहाँलाई सुन्न चाहन्थ्यौं । यस क्षेत्रका विषयमा उहाँको धारणा के छ भन्ने बुझ्ने उद्देश्यले आएका थियौं । तर उहाँ बोल्नु त के, रोकिनु पनि भएन ।”
स्थानीय सामाजिक अगुवाहरूले पनि शाहको शैलीप्रति असन्तुष्टि जनाएका छन् । सिरहाका जितेश कर्णले भने, “सयौं समर्थक पर्खिरहेका थिए तर बालेनको गाडी रोकिएन । उहाँ नेता कि सेलिब्रेटी भन्नेमा नै कन्फ्युजन देखियो ।”
उनको छोटो उपस्थितिलाई लिएर स्थानीय स्तरमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन् ।