वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित टोल टेढा सेमरामा रहेको श्रीमती मनमिश्रा आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना बालविकास तहका विद्यार्थीहरूका लागि दुई वटा कक्षा कोठामा कार्पेट ओछ्याइ हस्तान्तरण गरिएको छ ।
उपकार सेवा नेपालको सम्पूर्ण आर्थिक सहयोगमा करिब ६३० स्क्वायर फिट क्षेत्रफल बराबरको कार्पेट दुई वटा कोठाको भुइँमा ओछ्याइएको हो । भुइँमा बसेर अध्ययन गर्नुपर्ने बालबालिकालाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।
कार्पेट हस्तान्तरणका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी, संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू लगायत विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिकाको पठनपाठन वातावरण सुधार गर्न गरिएको यो पहल सराहनीय रहेको बताउँदै भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
यस सहयोगले बालविकास तहका विद्यार्थीहरूलाई स्वच्छ, सुरक्षित तथा सहज वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।