लागुऔषध सम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक फरार कैदीलाई सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले रौतहटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २७ वर्षीय सागर खाती विक रहेका छन् । एपीएफका अनुसार उनलाई चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर चोकबाट नियन्त्रणमा लिइएको हो । खातीको स्थायी घर सोही नगरपालिकाको ठाडाटोलमा रहेको बताइएको छ ।
सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार खाती ‘जेनजी आन्दोलन’का क्रममा काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए । फरार अवस्थामै रहेका उनलाई विशेष सूचनाको आधारमा खोजी गर्दै जाँदा रौतहटबाट पक्राउ गर्न सफल भएको एपीएफले जनाएको छ । एपीएफका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका खातीलाई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
फरार कैदीको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।