शनिबार अर्थात् भोलि भ्यालेन्टाइन्स डे मनाइँदैछ। प्रणय दिवसका रूपमा चिनिने यो दिन प्रेमिल जोडीहरूका लागि विशेष रहने गर्दछ । यस अवसरमा धेरैले आ–आफ्नै योजना बनाउने गर्छन्—कसैले बाहिर घुम्ने, कसैले घरमै बसेर फिल्म हेर्ने ।
घरमै बसेर राम्रो प्रेमकथा हेर्ने योजना बनाएकाहरूका लागि आजको ‘गुड फ्राइडे सिनेमा’मा मलयालम सुपरहिट फिल्म Premam सिफारिस गरिएको छ ।
सन् २०१५ मा रिलिज भएको यो फिल्म एक साधारण युवकको प्रेमकथामा आधारित छ । तर यो केवल प्रेमकथा मात्र नभई एक व्यक्तिको जीवनका विभिन्न चरण, संघर्ष, असफलता र परिपक्वताको यात्रालाई पनि प्रस्तुत गर्ने फिल्म हो। उत्कृष्ट प्रस्तुति, सशक्त अभिनय र प्रभावशाली कथावस्तुका कारण समीक्षकहरूले समेत यसलाई उच्च मूल्याङ्कन दिएका छन् ।
झण्डै चार करोड भारतीय रुपैयाँ लागतमा निर्माण भएको फिल्मले करिब ७३ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो । रिलिज वर्षमै सबैभन्दा धेरै कमाउने मलयालम फिल्म बनेको यो फिल्म हालसम्मकै सर्वाधिक कमाउने शीर्ष मलयालम फिल्महरूको सूचीमा पनि पर्छ ।
फिल्मको कथा जर्ज नामका पात्रको जीवन यात्रामा केन्द्रित छ ।
सन् २००२ – स्कुल जीवनमा उनले मेरी नामकी किशोरीलाई मन पराउँछन्, तर प्रेम व्यक्त गर्न सक्दैनन्। पछि मेरी अरू कसैलाई मन पराउने थाहा पाएपछि उनको पहिलो प्रेम असफल हुन्छ ।
सन् २००५ – कलेज जीवनमा उनी केही उद्दण्ड स्वभावका हुन्छन् । यही क्रममा कलेज लेक्चरर मलारसँग भेट हुन्छ र प्रेम बस्छ । तर परिस्थितिले फेरि उनको प्रेम असफल बनाउँछ ।
सन् २०१६ – तीस वर्ष पुगेका जर्ज असफल प्रेमका पीडासँगै साथीहरूसँग बेकरी क्याफे सञ्चालन गरिरहेका हुन्छन् । त्यहीँ एक युवतीसँग भेट भएपछि उनको प्रेम जीवन फेरि नयाँ मोडमा पुग्छ ।
जर्जको प्रेम यात्रा अन्ततः कहाँ पुग्छ ? उनको असफल प्रेमको शृंखला टुंगिन्छ कि चलिरहन्छ ? यसको जवाफ जान्न फिल्म हेर्नु उपयुक्त हुनेछ ।