महोत्तरीको मनराशिस्वा नगरपालिकाकी एकल महिला इन्दुकुमारी देवीले सहकारीमा जम्मा गरेको डुबेको रकममध्ये आठ लाख रुपैयाँ फिर्ता पाएकी छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको पहलमा सहकारी सञ्चालक पक्षले पहिलो चरणमा आठ लाख रुपैयाँ फिर्ता गरेको हो । वैदेशिक रोजगारीमा रहेका उनका श्रीमान्को तीन वर्षअघि दुर्घटनामा निधन भएपछि प्राप्त क्षतिपूर्तिबापतको १२ लाख रुपैयाँ उनले २०८० असार २४ गते औरहीस्थित सोनामाई बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेकी थिइन् । सहकारीले वार्षिक २४ प्रतिशत ब्याज दिने आश्वासन दिएपछि उनले उक्त रकम जम्मा गरेकी थिइन् ।
सुरुका केही महिना ब्याजसमेत प्राप्त गरेकी इन्दुकुमारी सहकारी संस्था बन्द भएपछि भने सावाँ रकमसमेत फिर्ता पाउन नसक्ने अवस्थामा पुगेकी थिइन् । तीन जना नाबालिका छोरीको पालनपोषण र भविष्यको जिम्मेवारी आफ्नै काँधमा रहेकाले श्रीमान्को मृत्युपछि प्राप्त रकम सुरक्षित राख्ने उद्देश्यले सहकारीमा जम्मा गरेको उनको भनाइ छ ।
पुख्र्यौली सम्पत्तिका रूपमा तीन धुर घडेरी मात्रै रहेको र श्रीमान्को क्षतिपूर्तिबापत प्राप्त रकम नै आफ्नो जीवनयापनको मुख्य आर्थिक आधार रहेको उनले बताइन् । बैंकमा बढीमा ६ प्रतिशतसम्म मात्रै ब्याज पाइने तर सहकारीले २४ प्रतिशतसम्म ब्याज दिने भनेपछि बढी ब्याजको आशामा रकम जम्मा गरेको उनको भनाइ छ ।
सहकारी बन्द भएपछि रकम फिर्ता पाउने कुनै उपाय नदेखेपछि उनले न्यायका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पीडितको निवेदनपछि प्रशासनले सहकारी सञ्चालक पक्षसँग पटक–पटक छलफल तथा संवाद गरी रकम फिर्ताका लागि पहल गरेको थियो । निरन्तरको प्रयासपछि दुवै पक्षबीच सहमति भई पहिलो चरणमा आठ लाख रुपैयाँ नगदै फिर्ता गराइएको हो ।
बाँकी चार लाख रुपैयाँ र त्यसको ब्याजसमेत आगामी मङ्सिर ४ गतेसम्म फिर्ता गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
लामो समयदेखि आफ्नो जीवनको एक मात्र आर्थिक सहारा गुमाएको चिन्तामा रहेकी इन्दुकुमारीले रकम फिर्ता पाएपछि खुसी व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयप्रति आभार प्रकट गरेकी छन् ।
प्रमुख जिल्ला अधिकारी यादवले पीडितलाई न्याय र राहत उपलब्ध गराउनु प्रशासनको जिम्मेवारी भएको उल्लेख गर्दै सहकारीमा रकम डुबेर समस्यामा परेका अन्य पीडितको गुनासो सम्बोधन गर्नसमेत प्रशासनले आवश्यक पहल गर्ने बताए ।