आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा कडा पारिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूको संयुक्त परिचालन सुरु गरिएको छ ।
बाराका चारवटै निर्वाचन क्षेत्रका संवेदनशील क्षेत्रसहित अन्य सबै क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती (पेट्रोलिङ) सुरु गरेको छ । निर्वाचन मिति नजिकिँदै गर्दा सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षाकर्मीहरूले दिन र रात दुवै समयमा पेट्रोलिङ सञ्चालन गरिरहेका छन् ।
निर्वाचनको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र मतदाताहरूलाई सुरक्षित मतदानको वातावरण सुनिश्चित गर्न सुरक्षा टोलीहरू विभिन्न टोल र बस्तीहरूमा पुगिरहेका छन् । जिल्लाभरका मतदान केन्द्र र मतगणना स्थलहरूको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूको परिचालन थप प्रभावकारी बनाइएको छ ।
प्रशासनका अनुसार, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा रहेको छ ।