पछिल्लो समय पर्सामा देखिएका शृंखलाबद्ध घटनाक्रमले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
मधेश प्रदेशको आर्थिक केन्द्र मानिने वीरगंजमा सशस्त्र प्रहरीमाथि भएको दुर्व्यवहारदेखि लिएर दिनदहाडै प्रहरी कै सवारीसाधन तोडफोड र समान्य विवादमा कर्फ्यू आदेशसम्मका घटनाले स्थानीयवासी असन्तुष्ट बनेका छन् ।
केही दिनअघि वीरगंजको मुख्य चोक आदर्शनगर क्षेत्रमा छापामारी गर्न पुगेकाे सशस्त्र प्रहरीलाई तस्कर समूहले लखेटीलखेटी कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । साेहि घटनामा प्रहरीकाे सवारीसाधन तोडफोड गरेका थिए । यसैगरी सशस्त्र प्रहरी अाफैले नेपाल प्रहरीसँग समन्वय नगरी घटनासँग असम्बन्धित नागरिकलाई नियन्त्रणमा लिएर विना कारण थुन्ने दुःख दिने काम गरेका थिए । वीरगंज १० घडिअर्वाका लखन गुप्तालाइ विना कारण पक्रेर विवादित बनेका थिए ।
यता आइतबार साँझ वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा दुई समूहबीच पार्किङ विषयलाई लिएर विवाद चर्किएको थियो । झडपमा केही व्यक्ति घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
राति सबै साम्य भएकाे पर्साका प्रहरी उपरिक्षकले बताइरहदाँ सोमबार बिहान एकाएक ९:४५ बजेदेखि लागू हुने गरी पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगंजको मुख्य बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि चौतर्फी आलोचना सुरु भएको हो ।
स्थानीय व्यवसायी, सर्वसाधारण र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एउटा वडाको विवादलाई नियन्त्रण गर्न नसक्दा पूरै शहर ठप्प पारिएको आरोप लगाएका छन् । प्रजिअ भाेला दहालले जारी गरेकाे कर्फ्यू आदेशमा निर्वाचन या त्यसकाे कुनैपनी विषय समेटेकाे छैन् । उनकाे कर्फ्यू आदेश यसअघि हुने कर्फ्यू आदेशकाे कपि पेस्ट जस्तै रहेकाे छ ।
कर्फ्यूले व्यापार व्यवसाय प्रभावित
वीरगंज मधेश प्रदेशको व्यापार, उद्योग र रोजगारीको मुख्य केन्द्र हो । भारतसँगको प्रमुख नाका रहेको यस शहरमा दैनिक करोडौँको कारोबार हुने गर्दछ । कर्फ्यूका कारण बजार, यातायात, बैंक तथा उद्योगका गतिविधि प्रभावित भएका छन् । विधालय पुगेका विद्यार्थीहरूलाई विधालयले घर फिर्ता पठाइदिएका छन् ।
अासन्न निर्वाचन र विवाहको मौसम भएकाले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । औषधि, खाद्यान्न र अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि रोकिँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ ।
कर्फ्यू अादेशकाे सामाजिक सञ्जालमा आक्रोश
सामाजिक सञ्जालमा युवाहरूले कर्फ्यू कडा विराेध गरेका छन् । एक युवा जय साहले “कर्फ्यू सजिलो उपाय हो, तर यो जिम्मेवारीबाट भाग्ने संस्कृतिको संकेत हो” भन्दै आलोचना गरेका छन् । अर्का प्रयोगकर्ता नन्दन बानियाँले “आज चुप लाग्यौँ भने भोलि सानो बहानामा पनि वीरगंज बन्द हुनेछ” कर्फ्यू खाेल्नुपर्ने सहितकाे प्रशासनकाे असक्षमता टिप्पणी गरेकाे छ । यसैगरी पर्सा क्रिकेट संघका मनिष सिंहले समेत “असक्षम नेतृत्वले वीरगंजलाई असफल पार्न खोजेको” टिप्पणी गरेका छन् ।
कतिपयले भने यस घटनालाई निर्वाचन बिथोल्ने षड्यन्त्रका रूपमा व्याख्या गरेका छन् ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले भने सुरक्षा अवस्था संवेदनशील रहेकाले सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू जारी गरिएको दाबी गरेका छन् । उनले परिस्थिति सामान्य बन्दै गएपछि समयानुसार कर्फ्यू खुकुलो बनाइने बताएका छन् ।
हाल वीरगंजकाे घण्टाघर, मुर्लि, पावरहाउस चाेक लगायतकाे प्रमुख चोकहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय संयुक्त रूपमा परिचालन गरिएकाे छ ।