पर्सा निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल ( जसपा )का तर्फबाट उम्मेदवारी दिएका टेमानीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ मा घरदैलो तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेका हुन् ।
घरदैलोका क्रममा उम्मेदवार टेमानीले ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै जनजीवनसँग जोडिएका समस्याबारे संवाद गरे । अगुवा भेलामा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा विभिन्न टोल विकास समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा टेमानीले आफू केवल मत माग्न नभई समस्या सुन्न र समाधानका लागि स्पष्ट प्रतिबद्धता गर्न आएको बताए ।
भेटघाटका क्रममा स्थानीय बासिन्दाले विशेषगरी खानेपानीको चरम समस्या उठाए । नियमित तथा स्वच्छ पानीको अभाव, चापाकल र धारामा पानी नआउने समस्या तथा कमजोर गुणस्तरका कारण स्वास्थ्य जोखिम बढेको गुनासो गरिएको थियो । टेमानीले दीर्घकालीन खानेपानी आयोजना सञ्चालनका लागि संघीय स्तरबाट पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी शिक्षा क्षेत्रको अवस्था सन्तोषजनक नभएको स्थानीय अभिभावकहरूको भनाइ थियो । सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार, शिक्षक दरबन्दी तथा गुणस्तरीय शिक्षाको अभाव रहेको गुनासोपछि टेमानीले विद्यालय स्तरोन्नति, प्राविधिक शिक्षा विस्तार तथा युवालाई रोजगारीमुखी सीप प्रदान गर्ने योजना अघि सार्ने बताए ।
स्वास्थ्य सेवाको पहुँच र गुणस्तरसमेत अर्को प्रमुख मुद्दाका रूपमा उठ्यो। सामान्य बिरामी पर्दा टाढा जानुपर्ने बाध्यता, औषधि अभाव तथा स्वास्थ्यकर्मीको कमीबारे स्थानीयले ध्यानाकर्षण गराए । टेमानीले वडास्तरमै प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने र सरसफाइ अभियान सुदृढ गर्ने आश्वासन दिए ।
वर्षायाममा हुने बाढी तथा पानी जम्ने समस्या पनि वडा नम्बर–१ का बासिन्दाको चिन्ताको विषय बनेको छ । कमजोर नाला प्रणाली र ढल निकास अभावका कारण सामान्य वर्षामै सडक तथा घरहरूमा पानी पस्ने अवस्था रहेको स्थानीयको भनाइ छ । यसप्रति टेमानीले वैज्ञानिक ढंगले ढल निकास प्रणाली निर्माण तथा सडक पूर्वाधार सुदृढीकरणका लागि विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
अगुवा भेलालाई सम्बोधन गर्दै टेमानीले विकास नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए। “जनताको घरदैलोमा पुगेर सुनेका समस्याहरू नै मेरो एजेन्डा हुन्,” उनले भने, “खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ र ढल निकासका विषयमा संघीय संसद्मा बलियो आवाज उठाउनेछु ।” उनले पारदर्शी, जवाफदेही र जनमुखी राजनीति आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।