पर्सागढी नगरपालिका–३ बड्नियार चोकस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय नजिकै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्र केहीबेर तनावग्रस्त बनेको छ ।
प्रहरीका अनुसार राति करिब ११ बजे नियमित चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीको डिक्कीबाट बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तु फेला परेलगत्तै गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटनाको जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर शंकास्पद वस्तुको परीक्षण सुरु गरेको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सो क्षेत्रलाई केही समयका लागि घेराबन्दी गरी सर्वसाधारणको आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
उक्त गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको जनाइएको छ । गाडी चालक वीरगञ्ज–छपकैया निवासी मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ । हाल गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
रास्वपाको कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । शंकास्पद वस्तुको प्रकृति, त्यसको उद्देश्य र घटनाको वास्तविकताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र वस्तुको परीक्षणपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ ।