जिल्ला प्रहरी कार्यालय पर्साले नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनाेज चाैधरी सहित चारजनालाई उनी चढेको गाडिबाट बिष्फाेटक पदार्थ (हाेक्स) सहित गएराति पक्राउ गरेर आज सार्वज निक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति पर्सागढी नगरपालिका–३ बड्निहार बजारस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले नियमित जाँचका क्रममा बड्निहारतर्फ जाँदै गरेको बा २० च १२५० नम्बरको गाडीमाथि शंका लागेपछि चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा गाडीको पछाडिको डिक्कीभित्र पहेँलो टेपले बेरेको चौपाटो आकारको टिनको बट्टाभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु बम रहेकाले फेला परेपछि गाडीमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ बस्ने वर्ष ४६ का मनोज कुमार चौधरी (नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नं. २ का उम्मेदवार), बारा प्रसौनी गाउँपालिका–५ बस्ने वर्ष २६ का सहाब आलम अन्सारी, धनुषाधाम नगरपालिका–१ बस्ने वर्ष ३० का सुरज कर्की र पर्सागढी ३ बस्ने वर्ष ६८ का सत्यनारायण थारु रहेका छन् ।
पक्राउ परेकाहरूलाई निर्वाचन अाचारसंहिताकाे कसुर, विष्फोटक पदार्थ सम्बन्धि कसुर र सार्वजनिक शान्ति बिरूद्धकाे कसुरमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।