मानवताको सेवा गर्ने महान् अभियानमा सक्रिय रहेको मानव सेवा आश्रममा आज पर्सा क्षेत्र नम्बर २ र ४ का सांसदहरू पुगेर त्यहाँ आश्रित लक्ष्मीनारायणहरूसँग भेटघाट गर्दै आशीर्वाद लिने तथा भोजन गराउने कार्यमा सहभागी भएका छन् ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु, पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य, यूवा नेता सुधिर पटेल सहित विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुशील कुमार कानुले संघीय सरकार वा स्थानीय सरकारबाट गर्नुपर्ने आवश्यक सहयोगका विषयमा आफू सधैं सकारात्मक रहेको बताए । उनले भने, “हिजो वडा अध्यक्ष रहँदा पनि समाजका लागि धेरै काम गरेको थिएँ, अहिले सांसद भएपछि अझ ठूलो जिम्मेवारी थपिएको छ । मानव सेवा आश्रमका लागि जे–जे गर्नुपर्ने हुन्छ, त्यसमा म सधैं साथ र सहयोग गर्न तयार छु ।”
उनले भने,
यसैगरी सांसद टेकबहादुर शाक्यले मानव सेवा आश्रमले मानवताको सेवा गर्दै समाजलाई एकताबद्ध बनाउने काम गरिरहेको उल्लेख गर्दै पहिलो प्राथमिकता नै आश्रमको सहयोग रहेको बताए । उनले सबै सरोकारवालासँग सहकार्य गरेर आश्रमका लागि आवश्यक काम अघि बढाइने बताए । “आज विश्व नै विभिन्न द्वन्द्व र युद्धको परिस्थितिमा होमिएको बेला मानव सेवा आश्रमले मानिसलाई जोड्ने काम गरेको छ,” उनले भने, “यस आश्रमले गरिरहेको कामबाट विश्व समुदायले पनि पाठ सिक्नुपर्ने अवस्था छ ।”
सांसद शाक्यले आश्रमको सेवामूलक कार्यलाई सघाउन आफ्नो तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् । साथै दुवै सांसदले सामाजिक तथा उदार कार्यमा सधैं अग्रसर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा बोल्दै मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले क्षेत्रलाई आर्थिक राजधानीको रूपमा विकास गर्न किन पछि परेको भन्ने विषयमा चिन्ता व्यक्त गर्दै विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे । उनले मधेस विश्वविद्यालयका लागि छुट्याइएको करिब ३०० बिघा जमिनको व्यवस्थापन तथा विकासका कामलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । साथै वीरगंज महानगरपालिकाले पहिले उपलब्ध गराउँदै आएको सहयोग बन्द भएको भन्दै पुनः त्यस्तो सेवा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका क्रममा सहभागीहरूले मानव सेवा आश्रमलाई सबै असहाय र सहाराविहीन नागरिकको वास्तविक आश्रयस्थल बनाउने उद्देश्यका साथ सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
यस अवसरमा आश्रममा बसोबास गरिरहेका लक्ष्मीनारायणहरूको जीवनयापन तथा आश्रमले भोगिरहेका विभिन्न चुनौतीहरूबारे जानकारी समेत लिइएको थियो। आश्रमले समाजका असहाय, बेवारिसे तथा सहाराविहीन नागरिकहरूको संरक्षण गर्दै आएको कार्य अत्यन्तै प्रशंसनीय र प्रेरणादायी रहेको उपस्थितिहरूले बताएका थिए ।
त्यसैगरी अाज स्थानीय अजय ठाकुरले आफ्नी छोरीको जन्मदिनको अवसरमा आश्रममा रहेका सबैलाई भोजन गराएर मानवीय सेवामा योगदान दिएका थिए ।
उक्त कार्यक्रममा कार्यक्रम संयोजक दिवेश गुप्ता, संरक्षक तथा मधेस विश्वविद्यालय का उपकुलपति डा. दिपक शाक्य, युवा समाजसेवी प्रकाश थारू तथा युवा नेता सुधिर पटेल लगायतको उपस्थिति रहेको थियो ।