बाराको मानवत – मटिअर्वा – पिलुवा सडक खण्डअन्तर्गत कलैया उपमहानगरपालिका – १० मटिअर्वामा फेरि चोरी भएको छ ।
रामपुकार गुप्ता (सागर) ले सञ्चालन गर्दै आएका किताब, कपी तथा मनि ट्रान्सफर पसलमा हिजो मध्यराति सट्टरको ताल्चा काटेर चोरी भएको हो । संचालक गुप्ताका अनुसार चोरीमा कम्तिमा करिब डेढ लाख रुपैयाँ नगद हराएको छ ।
स्थानीयवासीका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएको छ । करिब डेढ वर्षअघि पनि त्यही स्थानमा एक सुनचाँदी पसलमा चोरी भएको थियो भने केही दिनअघि एउटै घरमा दुई पटक चोरी हुने घटना भएका थिए ।
चोरी भएको पसल नजिकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मटिअर्वा रहेको छ भने करिब ५०० मिटरको दूरीमा प्रहरी चौकी पनि रहेको स्थानीयहरूले बताएका छन् ।
बाराको जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।