सुर्खेतकी इनिशा विश्वकर्माको हत्या र रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिटको विरोधमा सिरहाको गोलबजारमा सोमबार विशाल प्रदर्शन गरिएको छ ।
दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाहरूको सहकार्यमा निकालिएको विरोध र्यालीमा सहभागीहरूले पीडितलाई तत्काल न्याय दिन र दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा चर्को नाराबाजी गर्दै दलित तथा महिलामाथि हुने हिंसाका घटनामा राज्य संवेदनशील बन्न नसकेको आरोप लगाए। उनीहरूले यस्ता घटनाले समाजमा असुरक्षा बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शनपछि गोलबजारको मुख्य चोकमा आयोजित कोणसभामा वक्ताहरूले पछिल्लो समय दलित महिलामाथि हिंसा र हत्याका घटना बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे। छोरीहरू विद्यालय गएपछि सुरक्षित रूपमा घर फर्कने कुरामा अभिभावकहरू सधैं त्रसित रहनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको उनीहरूको भनाइ थियो ।
वक्ताहरूले राज्यका सम्बन्धित निकायहरूले महिला र दलितका मुद्दामा जिम्मेवार दृष्टिकोण नअपनाउँदा अपराधीहरूको मनोबल बढेको जिकिर गरे। कानुनी राज्य र इमान्दार प्रशासनको अभावमा महिलाहरू असुरक्षित बन्दै गएको उल्लेख गर्दै समाजमा स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिइयो ।
कोणसभामा सञ्जय महरा, शिवकुमार महरा, दलित महिला केन्द्र (सीडीडब्लूएन)की रीता रजक तथा मुक्ति नेपालका दासलगायत वक्ताहरूले मन्तव्य राख्दै दलित महिलामाथि भइरहेका बलात्कार र हत्याका घटनाविरुद्ध एकजुट भएर संघर्ष गर्न आह्वान गरेका थिए ।