बारामा जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर बिक्री–वितरणमा तोकिएको मूल्य र मापदण्ड पालन गर्न सम्बन्धित व्यवसायीहरूलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जारी गरेको सूचनामा जिल्लामा अवस्थित सम्पूर्ण खाना पकाउने एलपी ग्यास उत्पादक, वितरक तथा डिलरहरूले सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री नगर्न भनिएको छ ।
सूचनामा उल्लिखित मुख्य बुँदाहरू यस प्रकार छन्:
-
ग्यास सिलिण्डर तोकिएको परिमाण, गुणस्तर र मापदण्ड अनुसार मात्रै बिक्री वितरण गरिनु पर्ने ।
-
सुरक्षा मापदण्डको पूर्ण पालना गरी ग्यास भण्डारण र वितरण गर्नुपर्ने ।
-
उपभोक्तालाई बढी मौज्दात नराखी, पालो प्रणाली अनुसार ग्यास उपलब्ध गराउनुपर्ने ।
-
खाली सिलिण्डर प्राप्त भएपछि मात्र नयाँ सिलिण्डर प्रदान गर्नुपर्ने ।
-
सबै डिलरहरूले खरिद, बिक्री र मौज्दातको विवरण व्यवस्थित अभिलेख राखी पाक्षिक रूपमा जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने ।
-
एक सिलिण्डरबाट अर्को सिलिण्डरमा खन्याई ग्यास खुद्रा बिक्री नगर्नुपर्ने ।
-
अनुगमन तथा निरीक्षणको क्रममा निर्देशन पालन नगरेमा प्रचलित कानून अनुसार कारबाही गरिने ।
प्रशासनले यस सूचनाद्वारा उपभोक्तालाई सुरक्षित र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन तथा अनावश्यक संचिति हुन नदिन ध्यानाकर्षण गरेको छ ।