सशस्त्र प्रहरी गण नं. १३, पर्सा र वीरगंज हेल्थ केयर अस्पतालको समन्वयमा पर्साका विभिन्न गाउँपालिका र वडामा बस्ने शारीरिक अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगेर व्हिलचेयर प्रदान गरिएको छ ।
समाजसेवी प्रकाश थारूकाे पहलबाट चारजना अपाङ्ग व्यक्तिहरूले तत्कालीन आवश्यकता अनुसार व्हिलचेयर पाएका छन् । व्हिलचेयर पाउनेमध्ये दुई वर्षअघिदेखि स्पाइन चोटका कारण पूर्ण रूपमा शारीरिक अपाङ्ग भएका जिराभवानी गाउँपालिका–१ पकडीटोला बस्ने ६२ वर्षीय प्रेम चौधरी रहेका छन् । हिडडुल गर्न नसक्ने चौधरी विगत दुई वर्षदेखि ओछ्यान मै बसेको अवस्था देखिएपछि सशस्त्र प्रहरी गण–१३ का गणपति एस.पी. मोहन बहादुर क्षेत्रीले उनको घरमै पुगेर व्हिलचेयर सहयोग गरेका छन् । चौधरीले आफ्नो परिवारको लागि घरको काम गरिरहनु परेको अवस्थामा यस प्रकारकाे सहयोगले केही सहज भएको बताए ।
त्यसैगरी, जन्मजात थल्लापरेर हिडडुल गर्न नसक्ने सेढवा गाउँपालिका–२ का ३५ वर्षीय बिनोद दास थारुले समेत व्हिलचेयर पाएका छन् । उनकाे घरमै पुगेर व्हिलचेयर प्रदान गरिएकाे हाे।
यसैगरी मलाह रोगका कारण अपाङ्ग भएका धोबनी गाउँपालिका–५ का ४२ वर्षीय मनबोध चौधरी र जन्मजात अपाङ्ग रहेका बिन्दबासनी गाउँपालिका–३ झौवा निवासी १० वर्षीय आलोक कुमार राम दुवैलाई पनि घरमै पुगेर व्हिलचेयर हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी गण–१३ का गणपति एस.पी. मोहन बहादुर क्षेत्री, बोडर आउट पोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खड्का, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वार्डका अध्यक्ष द्वय रामशरण खवास र मनौवर अहमद, स्थानीय प्रतिनिधि रामसुरत प्रसाद कुर्मी, औरेन्जेब अहमद लगायतको उपस्थिति रहेको थियो ।