०१. मधेश प्रदेश प्रहरीले पाए ३५ वटा मोटरसाइकल
मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गतका विभिन्न प्रहरी युनिटका लागि ३५ थान मोटरसाइकल हस्तान्तरण गरेको छ। शान्तिसुरक्षा कायम गर्न, विपद् व्यवस्थापन प्रभावकारी बनाउन तथा नागरिकसम्म प्रहरीको पहुँच विस्तार गर्ने उद्देश्यले गृह, सञ्चार तथा कानुन मन्त्रालयले मोटरसाइकल वितरण गरेको हो। मन्त्रालयका मन्त्री फकिरा महतोले मधेश प्रदेश विपद्को उच्च जोखिममा रहेकाले अपराध नियन्त्रणका लागि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री महतोले नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई मोटरसाइकलको चाबी तथा ब्लुबुक हस्तान्तरण गर्नुभयो। डीआईजी अधिकारीले प्रदेश सरकारले उपलब्ध गराएको सवारीसाधनले प्रहरी परिचालन तथा सेवा प्रवाहमा थप सहजता पुग्ने बताउनुभयो।
०२. मधेशमै लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापिए
मधेश प्रदेश सरकारले प्रदेशमै सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स छापेर वितरण सुरु गरेको छ। पहिलो चरणमा श्रम तथा यातायात मन्त्रालयले ३ हजार ८१ वटा चालक अनुमतिपत्र छापेर प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयलाई वितरणका लागि हस्तान्तरण गरेको हो। मन्त्री शारदादेवी थापाले छापिएका लाइसेन्स यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गर्दै सेवाग्राहीलाई यथाशीघ्र वितरण गर्न निर्देशन दिनुभयो। प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि सेवाग्राहीले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य हुने र सेवा प्रवाह थप सहज हुने मन्त्रालयको अपेक्षा छ। पहिलो चरणमा वीरगञ्जका लागि १ हजार १७२, जनकपुरका लागि ९३२, लहानका लागि ४६०, बर्दिबासका लागि ३०३, गौरका लागि ११९, राजविराजका लागि ५२, मलङ्गवाका लागि ३२ र कलैयाका लागि ११ वटा लाइसेन्स छापिएका छन्।
०३. जनकपुरधाममा फोहरको थुप्रो, धार्मिक पर्यटनमा समेत असर
मधेश प्रदेशको राजधानी जनकपुरधाममा फोहर व्यवस्थापन प्रभावकारी हुन नसक्दा सहरको सौन्दर्यसँगै धार्मिक पर्यटनमा समेत असर परेको छ। जानकी चोक, अस्पताल रोड, पिडारी चोक, रामानन्द चोकलगायत क्षेत्रमा जथाभावी थुप्रिएको फोहरले दुर्गन्ध र लामखुट्टेको समस्या बढाएको स्थानीयको गुनासो छ। उपमहानगरपालिकाले नियमित रूपमा फोहर उठाउँदै आए पनि जथाभावी फोहर फाल्ने प्रवृत्तिका कारण समस्या दोहोरिने गरेको जनाएको छ। स्थानीयले जनकपुरधामको सरसफाइ सुधारका लागि नियमित फोहर सङ्कलनसँगै नागरिकको व्यवहारमा परिवर्तन र दीर्घकालीन फोहर व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
०४. रौतहटमा ईभी र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार २० वर्षीय राजगीर यादव गम्भीर घाइते भएका छन्। गुजरा नगरपालिका–३ स्थित धनसार गेट नजिक निजगढतर्फबाट आउँदै गरेको ईभी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल आमनेसामने ठोक्किएका थिए। घाइते दुवैलाई उद्धार गरी चन्द्रपुरस्थित अस्पताल लगिएकोमा उपचारका क्रममा सन्देशको मृत्यु भएको हो। राजगीरलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
०५. १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा
अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्। प्रहरीका अनुसार अंसारीविरुद्ध परेको जाहेरीका आधारमा दायर मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले २०८२ पुस २४ गते १८ वर्ष कैद सजाय, ६ लाख रुपैयाँ जरिवाना र अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो। अदालतको फैसला भएपछि अंसारी फरार रहेका थिए।
०६. वीरगञ्जमा २० लाख ८१ हजार रुपैयाँका खाद्यान्न र औषधि बरामद
वीरगञ्जमा भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएका २० लाख ८१ हजार २२० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न प्रकारका औषधि प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालित प्रहरी टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँ र छपकैयाबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको हो। प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका खाद्यान्न तथा औषधि फेला परेको थियो।
०७. महोत्तरीमा पौने दुई बिघा सार्वजनिक जग्गासम्बन्धी तीन रिट खारेज
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित विवादित कित्ता नम्बर ११५ सम्बन्धी तीनवटा रिट निवेदन उच्च अदालत जनकपुरधामले खारेज गरेको छ। अदालतको आदेशसँगै नेपाल सरकारको नाममा रहेको करिब पौने दुई बिघा सार्वजनिक जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउने तथा जग्गा संरक्षण गर्ने नगरपालिकाको प्रक्रियालाई कानुनी आधार मिलेको छ। उक्त जग्गा लामो समयदेखि ‘घैला बजार’ अर्थात् तरकारी बजारका रूपमा प्रयोग हुँदै आएको छ। नगरपालिकाका अनुसार करिब ४४ जनाले सो क्षेत्रमा घर, पसल तथा टहरा निर्माण गरी बसोबास र व्यवसाय सञ्चालन गर्दै आएका छन्। रिट खारेज भएपछि जिल्ला प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी अनधिकृत संरचना हटाउने प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।
०८. भारी वर्षाको सम्भावना, मधेशसहित विभिन्न क्षेत्रमा सतर्कता
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले मधेश प्रदेशसहित देशभर वर्षा भइरहेको छ। वर्षाका कारण सडक, चोक तथा बजार क्षेत्रमा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। असोज ९ गते बागमती, मधेश र कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावनासहित रेड अलर्ट जारी गरिएको छ। भारी वर्षाका कारण बाढी, डुबान, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
०९. नेशनल मेडिकल कलेजले पीजी प्रथम वर्षका आवासीय चिकित्सकलाई कलेज छाड्न भन्यो
वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर अर्थात् पीजी आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ। कलेजले अर्को सूचना जारी नभएसम्म उनीहरूको कक्षा, क्लिनिकल पोस्टिङ, प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहित सबै शैक्षिक गतिविधि स्थगित गरेको जनाएको छ। कलेजले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका पीजी आवासीय चिकित्सकलाई फिर्ता बोलाउन आईओएम र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोधसमेत गरेको छ। सूचनाअनुसार चिकित्सकलाई कलेजले उपलब्ध गराएको छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न निर्देशन दिइएको छ। साथै, कलेजको जिम्मामा रहेका सम्पत्ति बुझाएर व्यक्तिगत सामानसमेत हटाउन भनिएको छ।
१०. चालु आर्थिक वर्षमै मधेशलाई साक्षर प्रदेश घोषणा गर्ने सरकारको लक्ष्य
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमै प्रदेशलाई साक्षर बनाउने लक्ष्यसहित ‘साक्षर मधेश प्रदेश घोषणा निर्देशिका, २०८३’ ल्याएको छ। निर्देशिकाअनुसार १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई साक्षर बनाई आगामी असार मसान्तभित्र मधेशलाई साक्षर प्रदेश घोषणा गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई स्वयंसेवक सहजकर्ताका रूपमा परिचालन गरी ३० कार्यदिनसम्म दैनिक दुई घण्टा साक्षरता कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ। तर, वयस्कलाई विद्यार्थीमार्फत छोटो अवधिमा पढाउने मोडल, तथ्यांकको विश्वसनीयता, पर्याप्त बजेट तथा अनुगमनलगायत विषयमा प्रश्न उठेका छन्।