राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई मन्त्री बनाइदिन धाउने र मिडियामा त्रुटिपूर्ण प्रचार गर्ने काम नगर्न अनुरोध गरेका छन्।
ललितपुरको रोयल टुलिप होटलमा बुधबार सम्पन्न दुईदिने अभिमुखीकरण कार्यक्रमको अन्तिम दिन सभापति लामिछानेले सांसदहरूलाई सम्बोधन गर्दै भने, “अहिलेसम्म कुन मन्त्रालय कसलाई दिने भन्ने निश्चित भएको छैन । तपाईंहरूमध्ये कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भन्दै धाउने र मिडियामा ‘फलानो मन्त्री’ भनेर ट्रायल गर्ने काम बन्द गर्नुहोस् ।”
उनले थपे, “अहिलेसम्म केही पनि निश्चित छैन । पार्टीले क-कसलाई मन्त्रिपरिषदमा पठाउने भन्ने निर्णय आजसम्म गरिसकेको छैन। क्षमता अनुसार मन्त्रालय दिइनेछ। पार्टीले सही निर्णय गर्नेछ, र तपाईंहरूले यसमा हस्तक्षेप गर्नु पर्दैन ।”
सभापति लामिछानेले सांसदहरूलाई आफ्नो विज्ञता र क्षमतामा ध्यान दिन सुझाव दिएका छन् । “कयौं साथीहरू देखिएको देखियै हुनुहुन्छ, कयौं छेकिएको छेकियै हुनुहुन्छ। पार्टीले छेकिएका साथीहरूलाई पनि मूल्यांकन गर्दैछ,” उनले भने ।