नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दै पहिलो शक्ति बनेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र जितेको छ ।
चुनावी नतिजा सार्वजनिक भएपछि थापाले राजीनामाको तयारी गरेका थिए। यद्यपि पार्टीका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन सुझाव तथा दबाब दिँदै आएका थिए ।
थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय गर्ने बताइएको छ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ ।