प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसोका लागि बोलाइएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारणहरू, आगामी रणनीति तथा पार्टी सभापति गगन थापा ले दिनुभएको राजीनामाबारे विस्तृत छलफल हुने बताइएको छ ।
निर्वाचनमा पार्टीको अप्रत्याशित पराजयपछि सभापति थापाले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुभएको थियो । तर संस्थापन पक्षका नेताहरूले वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तन उपयुक्त नहुने भन्दै उहाँको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टीभित्र विद्रोही धारको समर्थनमा विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुग्नुभएका थापा आफूसहित पार्टीले निर्वाचनमा पराजय व्यहोरेपछि नैतिक दबाबमा रहनुभएको छ ।
यता, पूर्वसंस्थापन समूहका नेताहरूले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै पार्टीलाई महाधिवेशनअघिकै संरचना र हैसियतबाट अगाडि बढाउनुपर्ने माग गरिरहेका छन् ।
बैठकले सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय गर्नुका साथै पार्टी पुनर्संरचना, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे पनि ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।