नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट १३ चैतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिई प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् ।
रास्वपाका शीर्ष नेताबीच बन्ने मन्त्रिपरिषद् बढीमा १५ मन्त्रालयको रहने समझदारी बनेको छ । बिहीबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्रीको शपथ, मन्त्रिपरिषद् गठन तथा सरकारका प्रारम्भिक प्राथमिकताबारे विस्तृत छलफल भएको जनाइएको छ ।
बैठकमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधिसभामा झन्डै दुई तिहाइको सुविधाजनक बहुमत प्राप्त गरेकाले सांसदको शपथपछि मात्रै प्रधानमन्त्री पदको शपथ लिने निर्णय गरिएको नेताहरूले बताएका छन् ।
प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतमा हुने तय भएसँगै शीर्ष नेताहरूबीच प्रधानमन्त्रीले भोलिपल्ट शपथ लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरूलाई समेत शपथ गराउने समझदारी बनेको हो । यसैबीच, निर्वाचन आयोग ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बिहीबार प्रमाणपत्र वितरण गरेको छ ।
आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै त्यसको जानकारी संघीय संसद् सचिवालयलाई समेत गराएको छ । निर्वाचन परिणाम औपचारिक रूपमा सार्वजनिक भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको छ ।
त्यसअनुसार रास्वपाका नेताहरू नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिइरहेका छन्।