नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादव लगायत सात जनामाथि पार्टी अनुशासनको कारबाही माग गरेका छन् ।
उनीहरूले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै सो मागसहित केन्द्रमा निवेदन दिएका छन् । उम्मेदवार गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुली पनि समावेश छन् ।
पत्रमा उम्मेदवार गुप्ताले लेखेका छन्, ‘तत्काल यिनीहरूलाई पार्टीको सदस्यताबाट निलम्बन गरिदिन हुन अनुरोध गर्दछु।’ उनले बारा–४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई, र जितपुर–सिमरा नगरकार्यसमिति सभापति छाबिलाल शर्मा माथि पनि कारबाहीको माग गरेका छन् ।
यसअघि बारा–२ का उम्मेदवार भैयाराम प्रसाद यादव ले पनि जिल्ला सभापति यादवलाई पार्टीबाट निष्कासन गर्न माग गरेका थिए । त्यस्तै, बारा सभापतिसहितका १६ जनालाई निर्वाचनमा अन्तर्घात गरेको दाबीसहित बारा–३ को क्षेत्रीय कार्यसमितिले पनि केन्द्रसमक्ष सिफारिस गरेको थियो ।
यो कदम पार्टीभित्रको विवाद र जिम्मेवारी निर्धारणको प्रयासको रूपमा हेरिएको छ ।