वर्षाका कारण सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत सवारी आवागमन अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा लगातारको वर्षापछि सडक हिलो र चिप्लो हुँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको हो ।
दाउन्ने क्षेत्रको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सडक अत्यधिक चिप्लो बनेपछि उकालोमा सवारीसाधन पार हुन नसक्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो बनाउँदा उकालो चढ्ने क्रममा सवारीसाधन गुड्न नसकी बीच बाटोमै रोकिएका छन्। जसका कारण पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन लामो जाममा परेका छन् ।
“हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ,” प्रहरी उपरीक्षक खड्काले भने, “उकालोमा सवारी चिप्लिएकाले सडक अवरुद्ध भएको हो ।”
सडक अवरोध हटाई यातायात सञ्चालन सहज बनाउन मर्मत कार्य भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण कार्य सम्पन्न हुन नसक्दा सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ ।
यसैबीच सडक आयोजनाले सम्भावित जोखिम न्यूनीकरणका लागि यही चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ। रातिको समयमा सडक खण्डमा थप जोखिम बढ्न सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।
हाल साना सवारीसाधन, लामो दूरीका यात्रुवाहक सवारी तथा आकस्मिक सेवाका सवारीसाधन सञ्चालनमा रहे पनि सडकको अवस्थाका कारण आवागमन पूर्ण रूपमा सहज हुन नसकेको प्रहरीले जनाएको छ ।