आतंकवादी गतिविधि हुने देशहरूको अन्तर्राष्ट्रिय सूचीमा नेपालको अवस्था विगत वर्षको तुलनामा उल्लेख्य रूपमा सुधार भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको स्वतन्त्र तथा गैर–नाफामूलक संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको सन् २०२६ को प्रतिवेदन अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा निकै सुधारिएको देखिएको हो ।
सन् २०२५ मा ६८औँ स्थानमा रहेको नेपाल हाल ८९औँ स्थानमा पुगेको छ । यसले नेपालमा सुरक्षा अवस्था सुदृढ बन्दै गएको तथा आतंकवादी गतिविधि न्यून भएको संकेत गर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालमा कुनै पनि आतंकवादी आक्रमण वा गतिविधि दर्ता भएको देखिँदैन । नेपालमा देखिएको सुधार अन्य धेरै देशको तुलनामा उल्लेख्य रहेको पनि जनाइएको छ ।
१६३ देश समेटिएको उक्त सूचीमा पाकिस्तान पहिलो स्थानमा रहेको छ भने भारत १३औँ स्थानमा छ । भारत अघिल्लो वर्षको तुलनामा दुई स्थान तल झरेको हो । यसअघि भारत ११औँ स्थानमा रहेको थियो । भारतमा पछिल्लो एक वर्षमा आतंकवादी घटनामा ४३ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै अफगानिस्तान ११औँ, म्यानमार १४औँ र बंगलादेश ४२औँ स्थानमा रहेका छन् । भुटान र श्रीलंका भने आतंकवादी गतिविधि शून्य भएका देशको सूचीमा परेका छन् ।
दक्षिण एसिया सबैभन्दा प्रभावित क्षेत्र
प्रतिवेदनअनुसार दक्षिण एसिया लगातार दश वर्षदेखि आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा रहेको छ । पहिलो पटक पाकिस्तान उक्त सूचीको शीर्ष स्थानमा पुगेको हो । अफगानिस्तानको अवस्थामा भने सुधार आएको छ र यो शीर्ष १० देशको सूचीबाट बाहिरिएको छ ।
सन् २०२५ मा विश्वभर आतंकवादका कारण हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ । आतंकवादी हमलाको संख्या करिब २२ प्रतिशतले घटेर २ हजार ९४४ मा झरेको छ । समग्रमा यस वर्ष ८१ देशको अवस्थामा सुधार आएको छ भने १९ देशको अवस्था बिग्रिएको प्रतिवेदनमा उल्लेख छ ।
पश्चिमी देशहरूमा आतंकवाद
पश्चिमी मुलुकहरूमा आतंकवादका कारण हुने मृत्युमा करिब २८० प्रतिशतले वृद्धि भएको देखिएको छ । युरोपियन युनियन (ईयू) को प्रतिवेदनअनुसार सन् २०२४ मा १४ सदस्य राष्ट्रहरूमा कुल ५८ वटा आतंकवादी हमला दर्ता भएका थिए ।
फ्रान्समा १४ र जर्मनीमा ६ वटा हमला भएका छन् । ईयू राष्ट्रहरूमा आतंकवादसँग सम्बन्धित घटनामा ४४९ जना पक्राउ परेका छन् ।
त्यस्तै बेलायतमा मात्रै ३ हजारभन्दा बढी व्यक्ति आतंकवादसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।