बाराको कलैयास्थित प्रादेशिक अस्पताल कलैयामा कार्यरत बाल रोग विशेषज्ञ डा. रामनिवास साहमाथि सरकारी अस्पतालको आडमा आफ्नै निजी अस्पताल सञ्चालन गरी बिरामी त्यहाँ पठाउने गरेको आरोप लागेको छ ।
पीडित पक्षले जनाएको छ कि अस्पतालको प्रसूति वार्डमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राहुल मण्डल र शोभा कुमारी राजवंशीसँग मिलेर विशेषगरी रातको समयमा सुत्केरी बिरामीलाई विभिन्न बहानामा निजी अस्पतालमा सिफारिस गर्ने गरिएको थियो । ब्लडको अभाव, बच्चाको जटिल अवस्था वा सामान्य सुत्केरी सम्भव नभएको भन्दै त्रास देखाएर बिरामीलाई निजी अस्पतालमा लैजाने र त्यहाँ पनि सरकारी अस्पतालकै टिमबाट उपचार गराई आर्थिक भार बढाउने गरिएको आरोप छ ।
चैत ६ गते २२ वर्षीया (परिवर्तित नाम) सुत्केरीलाई निजी अस्पतालमा सामान्य सुत्केरी सम्भव नभएको भन्दै अपरेशन गर्नुपर्ने भनिएको थियो । त्यसपछि निःशुल्क सेवा पाइने जानकारीपछि उनलाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बाल रोग विशेषज्ञ डा. साहलाई बोलाएर बिरामीको अवस्था गम्भीर भएको देखाइएको र त्रास सिर्जना गरी नजिकैको कलैया सब मेट्रो सिटी हस्पिटलमा करिब ३५ हजार रुपैयाँमा अपरेशन गर्न लगाइएको आरोप छ ।
पीडित परिवारले आर्थिक अवस्था कमजोर भए पनि बाटोमै आमाबच्चाको ज्यान जोखिममा पर्ने भन्दै डर देखाएर निजी अस्पतालमै उपचार गराइएको बताउँदै अन्याय भएको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । केही दिनअघि विष सेवन गरेका एक जना बच्चालाई समेत चार दिनसम्म निजी अस्पतालमै राखेर बढी रकम लिएको आरोप पनि लागेको छ ।
यस विषयमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले सत्यतथ्य छानबिन गरी दोषी भेटिए कारबाही गरिने जानकारी दिएका छन् ।