रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित बागमती नदीमा डुबेर हराएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ ।
सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती का करिब ४० वर्षीय कामी सिंह स्याङतान चैत ७ गते बिहान करिब साढे १० बजे माछा मार्दै गर्दा डुबेर बेपत्ता भएका थिए । घटनाबारे उनका भतिजा कान्छा लामाले प्रहरीलाई जानकारी दिएपछि पौराई प्रहरी चौकीबाट टोली खटिएर खोजी सुरु गरिएको थियो ।
खोजी कार्यलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट डीएसपी रुपा लाबुङको नेतृत्वमा टोली परिचालन गरिएको थियो। यसका साथै चन्द्रपुरस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल सन्तपुर क्याम्प, र इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट समेत संयुक्त रूपमा खोजतलास अभियान सञ्चालन गरिएको थियो ।
चैत ८ र ९ गते निरन्तर डुंगा प्रयोग गरी नदीमा व्यापक खोजी गरिए पनि उनी फेला परेका थिएनन् । अन्ततः चैत १० गते बिहान करिब साढे ७ बजे नुनथरको झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ नदीमा उनको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
शव फेला परेपछि संयुक्त सुरक्षा टोलीले डुंगाको सहायताले शव बाहिर निकालेर चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।