खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था कायमै रहेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भएको थियो भने फागुन महिनामा मात्र तीन लाख ७२ हजार २८१ मेट्रिक टन ग्यास आयात भएको छ । माघको तुलनामा फागुनमा ५१ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । उक्त परिमाणको ग्यासबाट करिब ३६ लाख ५० हजार सिलिन्डर भर्न सकिन्छ ।
आयात उल्लेख्य रूपमा बढे पनि बजारमा एउटा मात्र सिलिन्डर भएका उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो बढ्दो छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार अभाव हुने आशङ्कामा उपभोक्ताले घर–घरमा ग्यास सञ्चय गर्न थालेपछि बजारमा माग अस्वाभाविक रूपमा बढेको हो । उहाँले ग्यास आयात बढ्दै गएकाले अभाव क्रमशः कम हुँदै जाने बताउनुभयो ।
अध्यक्ष चन्दले आधा सिलिन्डर बिक्री व्यवस्था सुरु गरिएपछि आपूर्ति व्यवस्थापन सहज बन्दै गएको जानकारी दिनुभयो । अत्यावश्यक परेकाले मात्र आधा सिलिन्डर लैजाने र अन्य उपभोक्ताले पूरै सिलिन्डर उपलब्ध भएपछि मात्र लैजाने प्रवृत्ति देखिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार बजारमा हाल करिब एक करोड ४२ लाख ग्यास सिलिन्डर रहेका छन् । तर एउटै घरमा धेरै सिलिन्डर राख्ने प्रवृत्तिका कारण कृत्रिम अभाव सिर्जना भएको छ । विशेषगरी उच्च आय भएका परिवारमा चारदेखि पाँच वटासम्म सिलिन्डर राख्ने चलनले समग्र आपूर्ति प्रणाली प्रभावित बनेको उहाँले बताउनुभयो ।
यता नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आयात नियमित भइरहेकाले अभाव क्रमशः घट्दै गएको जानकारी दिनुभयो । उहाँले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो । निगमका अनुसार सामान्य अवस्थामा मासिक ४५ हजारदेखि ४९ हजार मेट्रिक टनसम्म ग्यासको माग हुने गर्दछ । तर पश्चिम एसियाली मुलुकहरूमा भइरहेको युद्धका कारण अभाव हुन सक्ने आशङ्काले बजारमा माग ह्वात्तै बढेको हो ।
बजारमा आपूर्ति सहज बनाउन निगमले फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री वितरण सुरु गरेको छ । यद्यपि साना होटल, रेस्टुरेन्ट तथा होस्टेलहरूमा भने अझै ग्यास अभाव कायमै रहेको छ ।
यसैबीच, भारतमा ग्यासको मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले एक साताअघि पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिन्डर २१६ रुपैयाँले मूल्य बढेको छ । मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ ।
हाल बजारमा खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ कायम रहेको छ ।