काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज सोमबार दुईवटा रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । प्रतियोगितामा हालसम्म अंक जोड्न नसकेको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । यता चार अंक जोडेको कर्णाली भने दोस्रो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ ।
त्यस्तै, आजको दोस्रो खेल अपराह्न ५ बजे चितवन राइनोज र काठमान्डु गोर्खाजबीच हुनेछ। चार खेलबाट ६ अंक जोडेको काठमान्डु र पाँच अंकसहित रहेको चितवन दुवै टोली पछिल्लो खेलमा प्राप्त जितको आत्मविश्वासका साथ मैदान उत्रनेछन् ।
प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत लिग चरणका खेलहरू आगामी नोभेम्बर १५ सम्म सञ्चालन हुनेछन् । प्रतियोगिताको फाइनल खेल भने नोभेम्बर २१ मा आयोजना हुनेछ ।
आजका दुवै खेलले टोलीहरूको अंकतालिका र प्लेअफ यात्रामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।