देशभर गत वैशाख १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका विपद्का घटना बढ्दै गएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार यस अवधिमा कुल ७ हजार २३१ वटा विपद्का घटना भएका छन् । प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४ सय ७९ जनाको मृत्यु भएको छ। साथै १ हजार ८०० जना घाइते भएका छन् ।
आगलागी सबैभन्दा बढी
सबैभन्दा बढी ३ हजार ४८० वटा आगलागीका घटना भएका छन् । त्यस्तै
- बाढी: ३२१
- पहिरो: ६०४
- भारी वर्षा: ४४२
- चट्याङ: ४०६
- सर्पदंश: ६००
यसैगरी अन्य विपद्का घटनामा
- वन डढेलो: २७९
- हुरीबतास: ४५१
- जनावर आक्रमण: ५०४
- लेक लाग्ने (उच्च पहाडी समस्या): १२३
- हिउँपहिरो: ५
- भूकम्प: ७
- असिना तथा डुङ्गा पल्टिने: २/२
- शीतलहर तथा असिनासहित हुरी: १/१ घटना भएका छन् ।
एकै दिन २६ घटना
प्राधिकरणका अनुसार चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म मात्रै २६ वटा विपद्का घटना भएका छन् । सो अवधिमा नौ जिल्लाका १३ स्थानमा आगलागी भएको र १० जना घाइते भएका छन् । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तन, अनियन्त्रित शहरीकरण, वन क्षेत्रको दुरुपयोग र कमजोर पूर्वतयारीका कारण विपद्का घटना बढ्दै गएका छन् । गर्मी मौसम सुरु भएसँगै आगलागी र वन डढेलोको जोखिम अझ बढ्ने देखिएको छ ।
प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र नागरिकलाई सचेत रहन आग्रह गर्दै आगलागी नियन्त्रण, सुरक्षित पूर्वतयारी, र विपद् व्यवस्थापनका उपायहरू अपनाउन अनुरोध गरेको छ । सरकारले विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणाली विस्तार, दमकल तथा उद्धार उपकरणको व्यवस्थापन, र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
तर प्रभावकारी कार्यान्वयन र स्थानीय तहको सक्रियता बिना विपद् जोखिम न्यूनीकरण सम्भव देखिदैन् ।