नयाँ संघीय संसदको अधिवेशन आगामी चैत १८ गतेदेखि आह्वान गर्ने तयारी गरिएको छ ।
संवैधानिक व्यवस्था अनुसार सरकारले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने प्रावधान छ । सामान्यतया अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिइने अभ्यास रहेको छ ।
अधिवेशन सुरु भएको दिन राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू प्रस्तुत गर्ने तथा दलका नेताहरूलाई शुभकामना मन्तव्यका लागि समय दिने कार्यसूची रहने विगतको अभ्यास छ ।
यसपटक संसदको पहिलो बैठक सिंहदरबार मा नै बस्ने तयारी गरिएको छ। नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराइएको हलमै बैठक सञ्चालन गर्ने तयारी भएको हो ।
नेपालको संविधानको धारा ९३ अनुसार प्रतिनिधि सभाको निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार सरकारले अधिवेशन आह्वानको प्रक्रिया अघि बढाएको हो ।