सप्तरी प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी ले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । प्रहरी प्रवक्ता डम्बरबहादुर पुरी का अनुसार लागूऔषध किनबेच भइरहेको सूचनाका आधारमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–१, घोघिदाहबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–२ का ३६ वर्षीय मो. मुस्ताक, सप्तकोशी नगरपालिका–८ का २३ वर्षीय कृष्णकुमार खंग, सोही स्थानका २५ वर्षीय राजकुमार बहदार तथा रुपनी गाउँपालिका–६ का सितल मगर रहेका छन् ।
प्रहरीका अनुसार मुस्ताक चढेको ना २६ प ९०३६ नम्बरको मोटरसाइकल जाँच गर्दा उनले बोकेको कालो प्लास्टिक झोलाबाट डाइजापाम ७ पिस, आइपिपिएल ७ पिस र फेरागन ९ पिस गरी जम्मा २३ पिस निषेधित लागूऔषध बरामद भएको हो ।
अन्य तीन जना भने लागूऔषध खरिदमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । उनीहरू सवार को २९ प ६१०६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा सप्तरी जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
यसैबीच, वन मुद्दाका फरार प्रतिवादी सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमका टेकनारायण कटवाल र अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी ४० वर्षीय वीरेन्द्रप्रसाद महतो पनि पक्राउ परेका छन् । उनीहरूलाई आइतबार अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।