सामाजिक सञ्जालमार्फत भएको साइबर बुलिङ प्रकरणमा केन्द्रीय साइबर ब्यूरो ले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार रौतहटको गुजरा नगरपालिका क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।
यो प्रकरण अमिषा पराजुली ले दिएको उजुरीसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । पराजुलीले केपी शर्मा ओली को समर्थनमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि आफूलाई सामाजिक सञ्जालमा लक्षित गर्दै साइबर बुलिङ गरिएको आरोप लगाएकी थिइन् ।
उनले उक्त घटनासम्बन्धी प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।
यसअघि पूर्वप्रधानमन्त्री ओली पक्राउ परेपछि उनको रिहाइको माग गर्दै सडकमा उत्रिएकी पराजुलीलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक तथा आक्रामक टिप्पणी गरिएको आरोप रहेको छ ।