बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत ले तीन जनालाई कैद तथा जरिवाना सजाय सुनाएको छ ।
अदालतले गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि तथा सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गरेको हो । न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को इजलासले उक्त फैसला सुनाएको हो । मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ ।
मुख्य कसुरदार ठहरिएका गौरी शंकर कुमार सिंहलाई अदालतले ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना गर्ने फैसला गरेको छ । त्यस्तै मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र त्यसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि जनही ३ महिना कैद र सोही बराबरको जरिवाना तोकिएको छ ।
यसैगरी अदालतले उनीहरू तीनै जनालाई अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ ।
२०७९ साल कार्तिक २० गते ‘सौर्य दैनिक’ पत्रिकामा गाउँपालिका अन्तर्गतको कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्कासम्बन्धी बोलपत्र आह्वान गरिएको भनी झुट्टा बिल र भरपाई तयार पारिएको थियो ।
उक्त झुट्टा कागजातका आधारमा १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मुद्दा दायर गरेको थियो ।