वीरगंज महानगरपालिका वडा नं. १६ स्थित वीरगंज भन्सार कार्यालय अगाडि तस्करीको प्रयासमा रहेका एक जोडीलाई प्रहरीले पक्राऊ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, प्रहरी चौकी ईनर्वा पर्सा र सशस्त्र प्रहरी बल नेपालको संयुक्त चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकास्पद रूपमा आउँदै गरेका भारत विहार मोतीहारी सकराहा थाना वडा नं. ९ का ३५ वर्षीय धुरेन्द्र राम र उनकी ३२ वर्षीय श्रीमति मधु देवीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीलेखानतलासी गर्दा निजहरूले बोकेको सेतो बोराभित्र चार सय ४८ पत्तामा लेखिएका ट्राेह्मा ५० (TROHMA-50) ट्याबलेटको पता चार हजार चार सय ८० पिस फेला पारेको छ । यसका साथै, काटेको २४ पिस ट्याबलेट समेत गरी चार हजार पाँच सय चार पिस ट्याबलेट बरामद गरेकाे जिल्ला प्रहरी कायार्लय पर्साले जनाएकाे छ ।
यस घटनामा संलग्न दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ । उनीहरूविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।