रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) नीलमकुमार न्यौपानेले सरकारी गाडीको दुरुपयोग गरेको आरोप सार्वजनिक भएको छ ।
प्राप्त जानकारी अनुसार, न्यौपाने पूर्वकार्यरत रहेको कैलालीको भजनी नगरपालिकासँग सम्बन्धित एक मुद्दामा बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनगढी जाँदा उनले गरुडा नगरपालिकाकै सरकारी सवारी साधन प्रयोग गरेका थिए । उक्त काम गरुडा नगरपालिकाको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नभए पनि उनले सरकारी स्रोत प्रयोग गरेको खुलेको हो ।
यस घटनाले सार्वजनिक स्रोत साधनलाई निजी वा असम्बन्धित प्रयोजनका लागि प्रयोग गरिएको भन्दै नैतिकता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ । सार्वजनिक निकायका स्रोत साधन निश्चित कार्य र क्षेत्रभित्र सीमित हुनुपर्ने प्रावधान रहेकाले यस्तो प्रयोगमाथि आलोचना भइरहेको छ ।
अझ, गरुडा नगरपालिकाकी उपमेयर पुनमदेवी चौधरीले आफू प्रयोग गर्ने सरकारी गाडी नै न्यौपानेलाई उपलब्ध गराएको विषय बाहिर आएपछि घटनाले थप गम्भीरता पाएको छ । यसले व्यक्तिगत मात्र नभई संस्थागत रूपमा समेत स्रोत साधनको दुरुपयोग भएको संकेत गरेको छ ।
स्थानीय तहभित्र उच्च तहका पदाधिकारीबीच समन्वयमा यस्तो कार्य हुनु चिन्ताको विषय बनेको छ । सामान्यतया सरकारी सवारी साधन सरकारी कामकाजका लागि मात्र प्रयोग गर्न पाइन्छ भने व्यक्तिगत वा असम्बन्धित प्रयोजनका लागि प्रयोग गर्नु नियमविपरीत मानिन्छ ।
यस प्रकरणले स्थानीय तहमा सुशासनको अवस्था, जिम्मेवार पदाधिकारीहरूको आचरण तथा सार्वजनिक स्रोतको संरक्षणबारे गम्भीर बहस सिर्जना गरेको छ । आफूलाई नियमअनुसार काम गर्ने अधिकारीका रूपमा प्रस्तुत गर्दै आएका न्यौपानेमाथि लागेको आरोपले उनको छविमाथि पनि प्रश्न उठाएको छ ।
यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण भएको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य नियामक निकायले यस घटनाबारे कस्तो छानबिन र कारबाही अघि बढाउँछन् भन्ने विषयमा सर्वसाधारणको चासो बढ्दै गएको छ ।