मधेश प्रदेश कृषि विश्वविद्यालय, राजविराज र अमेरिकी संस्था पिस कोरबीच शैक्षिक अनुसन्धान तथा सांस्कृतिक विकासका लागि सम्झौता भएको छ ।
बुधबार राजविराजमा आयोजित कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईको उपस्थितिमा विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताले दुवै संस्थाबीच शैक्षिक अनुसन्धान, सीप विकास तथा सांस्कृतिक विकासका क्षेत्रमा सहकार्य गर्ने आधार तयार गरेको छ ।
सम्झौता कार्यक्रममा अर्थमन्त्री भट्टराईले मधेश प्रदेश कृषि विश्वविद्यालय र पिस कोरबीच भएको सम्झौता भविष्यमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले नेपालमा पिस कोरको लामो इतिहास रहेको उल्लेख गर्दै कृषि तथा शैक्षिक क्षेत्रको विकासमा संस्थाले सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले सम्झौता कार्यान्वयनमा आएपछि विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुसन्धान, सीप विकास तथा सूचना प्रविधिको विस्तारमा सहयोग पुग्ने बताए। उनले परियोजना निर्माण, कार्यान्वयन तथा मूल्याङ्कनका क्षेत्रमा समेत निरन्तर सहयोग प्राप्त हुने जानकारी दिए ।
सम्झौता हस्ताक्षर समारोहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीका साथै पिस कोर नेपालका कार्यक्रम व्यवस्थापक, स्वयंसेवक र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।