सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरीका अनुसार बुधबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको थियो ।
गस्ती टोलीले नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रमा केही व्यक्तिले टाउकोमा बोकेर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारेको थियो । प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू नौ बोरा गाँजा छाडेर फरार भएका थिए ।
बरामद गरिएको गाँजा कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो । प्लास्टिकसहित गाँजाको कुल तौल १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुमन जंग थापाका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीबारे भने थप विवरण सार्वजनिक गरिएको छैन ।